ज्येष्ठताका आधारमा केसीले प्रतिनिधिसभाको पहिलो बैठक सम्हाल्ने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता नेपाली कांग्रेसका ज्येष्ठ नेता अर्जुन नरसिंह केसीले गर्ने भएका छन्। समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूचीमा सबैभन्दा उमेर पुगेका सदस्य भएकाले केसीलाई बैठक सञ्चालनको जिम्मेवारी दिइएको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार ७८ वर्षीय केसी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन्। संसद्को प्रारम्भिक बैठकमा सभामुख र उपसभामुख चयन नभएसम्म बैठक सञ्चालन गर्ने जिम्मेवारी ज्येष्ठ सदस्यलाई दिइने संवैधानिक व्यवस्था रहेको छ।
यदि कुनै कारणवश केसीले बैठक सञ्चालन गर्न नसक्ने अवस्था आएमा, दोस्रो ज्येष्ठ सदस्यका रूपमा रहेका नेकपाका ७३ वर्षीय परशुराम तामाङले बैठकको अध्यक्षता गर्नेछन्।
संविधानको धारा ९० को उपधारा (५) ले सभामुख र उपसभामुख अनुपस्थित वा पद रिक्त रहेको अवस्थामा उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने स्पष्ट व्यवस्था गरेको छ। यस प्रावधानले संसद्को काम कारबाही सुरु गर्न नेतृत्वको अभाव नहोस् भन्ने सुनिश्चितता दिएको छ।







