हर्मुज जलमार्गमा युद्धपोत पठाउन अमेरिकाको आग्रह, जर्मनी र ग्रिसले गरे अस्वीकार

User Image Prime TV News २ हप्ता अगाडि
Image of हर्मुज जलमार्गमा युद्धपोत पठाउन अमेरिकाको आग्रह, जर्मनी र ग्रिसले गरे अस्वीकार

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्रमा युद्धपोत पठाउन सहयोगी राष्ट्रहरूलाई गरेको आग्रहलाई जर्मन र ग्रीसले अस्वीकार गरेका छन्।

अमेरिका, इजरायल र इरान बीच बढ्दो तनावका बीच इरानले हर्मुज जलमार्गबाट हुने तेल ढुवानी अवरुद्ध गरेपछि राष्ट्रपति ट्रम्पले उक्त क्षेत्र सुरक्षित बनाउन सहयोगी राष्ट्रहरूलाई सैन्य जहाज पठाउन आग्रह गरेका थिए। तर जर्मनी र ग्रिसले यसमा सैन्य रूपमा संलग्न नहुने स्पष्ट पारेका हुन्।

अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गबाट विश्वभर प्रयोग हुने करिब २५ प्रतिशत पेट्रोलियम पदार्थ निर्यात हुने गर्दछ। पछिल्ला दिनहरूमा तेल बोकेका कम्तीमा १० वटा जहाजमाथि आक्रमण भएपछि मार्गको आवागमन प्रभावित भएको र विश्व बजारमा तेलको मूल्य बढ्न थालेको बताइएको छ।

जर्मन सरकारका एक प्रवक्ताले युद्ध जारी रहँदासम्म जर्मनीले कुनै पनि सैन्य कारबाहीमा सहभागी नहुने बताएका छन्। त्यस्तै ग्रीसका सरकारी प्रवक्ता पाभ्लोस मरिनाकिसले पनि हर्मुज क्षेत्रमा हुने कुनै सैन्य अभियानमा आफ्नो देश संलग्न नहुने बताएका छन्।

यता वेलायतले भने अमेरिकी प्रस्तावबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरिरहेको जनाएको छ। बेलायती प्रधानमन्त्रीले सैनिक पठाउने निर्णय कुनै पनि प्रधानमन्त्रीका लागि अत्यन्त कठिन हुने भन्दै कानुनी र रणनीतिक पक्षको गम्भीर मूल्यांकनपछि मात्र निर्णय लिइने बताएका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग सञ्चालनका लागि चीनको सहयोग अपेक्षा गरेका छन्। उनले चिनियाँ राष्ट्रपतिसँग हुने सम्भावित शिखर भेटअघि चीनको धारणा स्पष्ट हुनुपर्ने बताएका छन्। स्पष्ट जवाफ नआए आफ्नो भ्रमण स्थगित गर्न सक्ने संकेत पनि उनले दिएका छन्।

यता इरानले भने अमेरिका र इजरायलका सहयोगी राष्ट्रबाहेक अन्य देशका जहाजलाई हर्मुज जलमार्ग प्रयोग गर्न दिने संकेत गरेको छ। केही अन्तर्राष्ट्रिय रिपोर्टहरूमा इरानले तेल कारोबार चिनियाँ युआनमा हुने भए केही तेल ट्यांकरलाई हर्मुज पार गर्न दिने विषयमा विचार गरिरहेको उल्लेख गरिएको छ।