गैरकानुनी सम्पत्ति मुद्दामा पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता सन्तोष चालिसेलाई पाँच लाख धरौटी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चालिसेलाई पछि ठहरेबमोजिम हुने गरी पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध गोकर्णेश्वर नगरपालिकाको प्रमुख रहँदा भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार उनले २०७४ देखि २०७९ सम्म नगरप्रमुख हुँदा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए। उनी संसद्को अर्थ समितिको सभापति समेत बनेका थिए।
उक्त मुद्दामा थप सुनुवाइपछि अन्तिम फैसला हुने अदालतले जनाएको छ।







