स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित बनाइने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र डिजिटल बनाउन स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ। यसका लागि स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्। सहकार्यपछि स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरिएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अब स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रिया अनलाइनमार्फत गर्ने योजना अघि बढाइएको छ। बोर्डले चैत २५ गतेभित्र नयाँ दर्ता अनलाइनबाटै सुरु गर्ने लक्ष्यसहित तयारी गरिरहेको उनले बताए।
उनका अनुसार आगामी दिनमा स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणाली लागू गरिनेछ। यसबाट डाटा प्रमाणीकरण सहज हुने, एउटै व्यक्तिको दोहोरो दर्ता कम हुने तथा कार्डको दुरुपयोग घट्ने अपेक्षा गरिएको छ।
हाल स्वास्थ्य बीमा कार्यक्रममा करिब एक करोड नागरिक आबद्ध भइसकेका छन्। तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा अन्य विवरण नमिल्ने समस्या देखिँदै आएको बोर्डले जनाएको छ।
एनआईडी नम्बरमा आधारित प्रणाली लागू भएपछि यस्ता समस्या कम हुने र सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रमा छिटो सेवा पाउने अपेक्षा गरिएको छ। साथै भविष्यमा स्वास्थ्य बीमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको बोर्डले जनाएको छ।













