समानुपातिक सांसद सिफारिस प्रति कोशी प्रदेश कार्यवाहक सभापतिको असन्तुष्टि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले पार्टीले आइतबार समानुपातिक सांसदका लागि सिफारिस गरेको ५७ जनाको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
सरिनले कोशी प्रदेशका उम्मेदवार छनोट गर्दा भूगोल र जातीय क्लस्टरको समायोजन नगरेको भन्दै प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले भनिन्, “मैले कोशीको हकमा पहाडी भूगोल समेटिनुपर्छ, छुट्नु हुँदैन भनेको थिएँ। जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम छुटेको छ।”
उनले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मिरा लाबुङजस्ता योग्य उम्मेदवार सूचीमा नपरेको उदाहरणसमेत प्रस्तुत गरेकी छन्। सरिनका अनुसार, “कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसक्दा अबका दिनमा सङ्गठनमा असर नपर्ला भन्न सकिन्न।”
सरिन आफू प्रतिनिधि सभा निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार भइ पराजित भएकी थिइन्। रास्वपाका तत्कालीन प्रदेश सभापति राजेश तिम्सिनामाथि अनुशासनको कारबाही भएपछि उनले प्रदेश नेतृत्व सम्हाल्दै आएकी छन्।







