काठमाडौ महानगरद्वारा धरहरा पार्किङ क्षेत्र सञ्चालनमा ल्याइयो

User Image Prime TV News २ हप्ता अगाडि
Image of काठमाडौ महानगरद्वारा धरहरा पार्किङ क्षेत्र सञ्चालनमा ल्याइयो

काठमाडौ । काठमाडौ महानगरपालिकाले धरहरा क्षेत्रमा निर्माण गरिएको नयाँ सवारी पार्किङ क्षेत्र फागुन १० गतेदेखि सञ्चालनमा ल्याएको छ। पार्किङ व्यवस्थापनको जिम्मेवारी नगर प्रहरी बलले सम्हाल्ने भएको छ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार पार्किङ क्षेत्र सुरुवाती चरणमा पर्याप्त व्यवस्थित थिएन, तर अहिले आवश्यक सुरक्षा र पूर्वाधार सुधार गरी सञ्चालनमा ल्याइएको छ। पार्किङका तीन तलामा प्रत्येकमा ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको छ भने सिसिटिभी क्यामेराद्वारा सवारी सुरक्षा सुनिश्चित गरिएको छ।

धरहरा पार्किङ क्षेत्रलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ। माथिल्लो तलामा रहेको बी–१ मा १२७ वटा चारपाङ्ग्रे सवारी साधन पार्क गर्न सकिन्छ। बी–२ मा करिब ७०० वटा मोटरसाइकलको पार्किङ क्षमता रहेको छ। सबैभन्दा तल्लो तलामा रहेको बी–३ मा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्क गर्न सकिन्छ, यद्यपि हावा सञ्चारमा केही समस्या रहेको छ।

नगर प्रहरी प्रमुख जोशीका अनुसार अपाङ्गमैत्री पार्किङ सुविधा पनि उपलब्ध छ। पार्किङ सेवा हाल पूर्ण रूपमा निशुल्क छ र नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने छन्। सवारी भित्र्याउने समय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ।

महानगरले वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रमा सडक र फुटपाथमा पार्किङ पूर्ण रूपमा निषेध गरेको छ। नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाही गरिने बताइएको छ।

प्रमुख जोशीले भने, “सवारीसाधनको सुरक्षा जिम्मेवारी सवारीधनी आफैंले लिनुपर्छ। पार्किङ गर्दा अरुलाई असहज नहुनेगरी व्यवस्थित गरिदिन पनि हामीले अनुरोध गरेका छौं। आगामी दिनमा थप प्रभावकारी व्यवस्थापन गर्दै पार्किङ सेवामा सुधार गरिनेछ।”