संसदीय राजनीतिबाट सीके राउतको सन्यास, संघर्षको राजनीति जारी राख्ने घोषणा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् उक्त घोषणा गर्दै अब आफू संसदीय प्रतिस्पर्धाबाट टाढा रहने तर संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।
जनमत पार्टीका अध्यक्षसमेत रहेका राउत हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी –२ बाट उम्मेदवार बनेका थिए। तर, उक्त निर्वाचनमा उनी पराजित भएका थिए। निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजयी भएका थिए। त्यसैगरी, उमेश कुमार यादवले १४ हजार २६३ मत ल्याएका थिए भने राउतले ९ हजार ८८० मत मात्रै प्राप्त गरेका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले संघीय संसदमा ६ सिट जितेको थियो। तर पछिल्लो निर्वाचनमा भने जनमतका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन्। समानुपातिकतर्फ राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक ३ प्रतिशत मतसमेत पार्टीले प्राप्त गर्न सकेन।
निर्वाचन परिणाम आफू अनुकूल नआएपछि राउतले संसदीय राजनीतिबाट अलग हुने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जितें, एक पटक हारें। तर दुई पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।”
राउतले आफू संसदीय प्रतिस्पर्धाबाट टाढा रहने भए पनि पार्टीलाई आवश्यक परेसम्म नेतृत्व भने नछाड्ने स्पष्ट पारेका छन्। साथै उनले संघर्षको राजनीति निरन्तर जारी राख्ने बताएका छन्।







