इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले दियो बेन्जामिन नेतन्याहूलाई कडा धम्की
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले बेन्जामिन नेतन्याहूलाई लक्षित गर्दै कडा धम्की दिएको छ। इरानी गार्ड्सले नेतन्याहू जीवित रहेको अवस्थामा उनलाई पछ्याएर मार्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आईआरजीसीसँग सम्बद्ध वेबसाइट ‘सिपाह न्यूज’मा प्रकाशित सामग्रीमा नेतन्याहूलाई १६८ बालबालिकाको हत्या गरेको आरोप लगाउँदै उनलाई 'बालबालिका मार्ने अपराधी' भनिएको छ। उक्त सामग्रीमा यदि नेतन्याहू जीवित छन् भने पूर्ण शक्तिका साथ उनको खोजी गरेर मार्ने उल्लेख गरिएको छ।
समाचार संस्था एएफपीका अनुसार युद्धको तनाव चर्किरहेका बेला दुवै पक्षका नेताहरूले एक–अर्काविरुद्ध कडा अभिव्यक्ति र धम्की दिइरहेका छन्।
यसअघि बेन्जामिन नेतन्याहूले पनि इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईलाई लक्षित गर्दै कडा टिप्पणी गरेका थिए। पत्रकारहरूले इजरायलले इरानी नेतृत्व वा हिजबुल्लाहका नेता नइम कासिमलाई निशाना बनाउन सक्छ कि भन्ने प्रश्न सोध्दा नेतन्याहूले ती नेताहरूका लागि कुनै 'जीवन बीमा' नलिने प्रतिक्रिया दिएका थिए।
यसबीच सामाजिक सञ्जालमा नेतन्याहूको मृत्यु भएको भन्ने अफवाह पनि फैलिएको थियो। तर नेतन्याहूको कार्यालयले यस्तो दाबीलाई पूर्ण रूपमा असत्य भन्दै खण्डन गरेको छ। कार्यालयका अनुसार प्रधानमन्त्री सुरक्षित र स्वस्थ अवस्थामा रहेका छन्।
हालै नेतन्याहूले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको भिडियोपछि केही प्रयोगकर्ताले भिडियोमा उनको हातमा ६ वटा औँला देखिएको दाबी गर्दै भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुनसक्ने आशंका गरेका थिए।
तर विभिन्न तथ्य–जाँचकर्ताहरूले भिडियोको विश्लेषण गर्दा अतिरिक्त औँला नभई हातको छायाँ र मुद्राका कारण त्यस्तो देखिएको निष्कर्ष निकालेका छन्।
मध्यपूर्वमा युद्ध चर्किँदै जाँदा राजनीतिक नेतृत्वबीच कडा बयानबाजी र सामाजिक सञ्जालमा फैलिने अफवाहहरूले स्थिति थप संवेदनशील बनाइरहेको विश्लेषण गरिएको छ ।












