विभाजन अन्त्य गर्दै एनआरएनए पुनः एकीकृत, डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

User Image Prime TV News २ हप्ता अगाडि
Image of विभाजन अन्त्य गर्दै एनआरएनए पुनः एकीकृत, डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौ । केही वर्षदेखि विभाजनको अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः पुनः एकीकृत भएको छ। काठमाडौंमा आयोजित १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई पुनः एउटै संरचनामा ल्याएको हो।

‘एकता, लगानी र गौरव’ भन्ने नारासहित शनिबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो। केही वर्षयता डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका छुट्टाछुट्टै समूह सक्रिय हुँदा संघ विभाजित अवस्थामा पुगेको थियो।

पटक–पटक भएका एकता प्रयास असफल भइरहे पनि गत वर्ष भएको जेनजी आन्दोलनपछि भने पूर्वअध्यक्षहरूको पहलमा दुवै पक्ष एकता महाधिवेशनका लागि सहमत भएका थिए। त्यसका लागि गत मंसिर दोस्रो साता दुवै समूहबीच १० बुँदे सहमति भएको थियो।

महाधिवेशनमा अध्यक्षका दाबेदार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको एकता र हितलाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयनको बाटो खुलेको एक पदाधिकारीले बताए। शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्षमा चयन भएका छन्।

त्यस्तै अन्य उपाध्यक्षमा खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई, जुनु गुरुङ, महेन्द्र ओली, रोशन थापा, दिनेश पोखरेल र मनोजकुमार श्रेष्ठ चयन भएका छन्।

महिला उपाध्यक्षमा राधिका गुरुङ र युवा उपाध्यक्षमा भीमसेन थापा निर्विरोध चयन भएका छन्। महासचिवमा गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का चयन भएका छन्।

त्यस्तै उपमहासचिवमा टंकप्रसाद गैरे, दिनेशकुमार घिमिरे, डा. ज्ञानेन्द्र रेग्मी र पारसमणि पोखरेल चयन भएका छन्। सचिवमा राजेन्द्र अर्याल, सुजन अधिकारी, अभिमन्यु बस्नेत, अनुजा प्रधान, बेदराज बस्नेत, माधव दुलाल र सुपेन्द्र घिसिङ चयन भएका छन्।

महिला सचिवमा अमृता थापा, कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना तथा सह–कोषाध्यक्षमा अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान चयन भएका छन्। महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएकी छन्।

युवा संयोजकमा नवीन निउरे, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एशिया प्यासिफिक क्षेत्रीय संयोजकमा दीपक कँडेल र युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बू निर्विरोध चयन भएका छन्।

विधान संशोधनको प्रक्रिया पूरा भएपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्दै महाधिवेशन समापन गरिने जनाइएको छ। संस्था लामो समयपछि एकीकृत संरचनामा फर्किएपछि अब प्रवासी नेपालीबीचको सहकार्य र लगानी विस्तारमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ।