रास्वपाले नव निर्वाचित सांसदलाई दुईदिने प्रशिक्षण दिने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीले मंगलबार र बुधबार दुई दिन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जनाएको छ।
पार्टीका अनुसार सांसदहरूको जिम्मेवारी, संसदमा गर्नुपर्ने काम, पार्टीको नीति तथा कार्यदिशाबारे स्पष्ट जानकारी दिन कार्यक्रम आयोजना गर्न लागिएको हो। नयाँ सांसदहरूलाई काममा एकरूपता ल्याउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिन लागेको बताइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षण कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पार्टीका नेताहरूले संसदको काम गर्ने तरिका, नीति निर्माण प्रक्रिया र पार्टीको राजनीतिक रणनीतिबारे जानकारी दिनेछन्।
हालै भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनमत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पार्टीबाट १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिक प्रणालीतर्फ ५७ जनालाई सांसदका लागि सिफारिस गरिएको छ।
समानुपातिकतर्फ सिफारिस भएका उम्मेदवारहरूलाई भने अझै निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्न बाँकी रहेको छ।
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरी रास्वपाबाट कुल १८२ जना सांसद निर्वाचित भएका छन्। ती सांसदहरूलाई लक्षित गर्दै पार्टीले दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।







