अन्तर्राष्ट्रिय बजार महँगिँदा नेपालमा फेरि इन्धनको मूल्य भारी मात्रामा वृद्धि

User Image Prime TV News २ हप्ता अगाडि
Image of अन्तर्राष्ट्रिय बजार महँगिँदा नेपालमा फेरि इन्धनको मूल्य भारी मात्रामा वृद्धि

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगमले नेपालमा इन्धनको मूल्य फेरि बढाएको छ । मध्यपूर्व र पश्चिम एशियामा जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ।

निगमले चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरिएको हो। नयाँ मूल्य चैत २ गते बिहान १२ बजेर १ मिनेटदेखि लागू भएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। पहिलो वर्गका तराई जिल्लाहरूमा भने पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर १४९ रुपैयाँ ५० पैसामा बिक्री हुने भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारबाट प्राप्त पछिल्लो लागतअनुसार पेट्रोलमा करिब ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिकिलिण्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको छ। तर उपभोक्तालाई अत्यधिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य स्थिरीकरण कोष प्रयोग गरी सीमित दरमा मात्रै मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । 

निगमले हालको मूल्य समायोजनपछि पनि संस्थालाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको उल्लेख गरेको छ।यसअघि रसिया–युक्रेन युद्धका समयमा इन्धनको बक्यौता भुक्तानी गर्न नसक्दा आपूर्ति नै प्रभावित भएको अनुभव रहेको भन्दै निगमले अहिलेको अस्थिर परिस्थितिमा इन्धन आपूर्ति सहज राख्न मूल्य समायोजन आवश्यक भएको स्पष्ट पारेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै नेपालमा पनि मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रतिबद्धता जनाएको छ।