श्रम संस्कृति पार्टीले समानुपातिक सांसद सिफारिस गर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पाँचौं ठूलो दल श्रम संस्कृति पार्टी ले समानुपातिकतर्फ चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ।
पार्टीका केन्द्रीय सदस्य समीर तामाङका अनुसार आदिवासी महिला क्लस्टरमा मन्दिरा मोक्तान (हेटौँडा), खस आर्य महिलामा अम्बिका सङ्ग्रौला, दलित कोटामा राधिका रम्तेल (सुरखेत) र आदिवासी जनजातिबाट पूर्ण लिम्बू (पूर्व गोर्खा लाहुरे) सिफारिस गरिएको छ ।
समानुपातिक मत ३ लाख ८५ हजार ९०२ पाएको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रबाट पनि जित हासिल गरेको छ। सुनसरी १ बाट हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका थिए। यसरी पार्टीका कुल सात सांसद प्रतिनिधि सभामा पुग्ने भएका छन्।
समानुपातिक सांसद बन्ने आकांक्षी धेरै हुनुका कारण पार्टीभित्र विवाद पनि देखा परेको थियो। विवादकै कारण उम्मेदवार जीवन बिष्ट र मीना सिंगले सामाजिक सञ्जालमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए। पार्टी अध्यक्ष हर्क साम्पाङ ले समानुपातिक सांसद चयनमा दबाब दिनेहरूलाई फेसबुकमार्फत चेतावनी दिँदै ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भनेका थिए।







