एमालेभित्रैबाट घृणायुक्त अभिव्यक्ति र मिथ्या सूचना फैलाइएको योगेश भट्टराईको आरोप

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमालेभित्रैबाट घृणायुक्त अभिव्यक्ति र मिथ्या सूचना फैलाइएको योगेश भट्टराईको आरोप

काठमाडौ । योगेश भट्टराईले आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रबाटै आफूसहित केही नेताविरुद्ध घृणायुक्त अभिव्यक्ति र मिथ्या सूचना फैलाइएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पार्टीका माथिल्लो तहका नेताहरूबाटै अनर्गल लाञ्छना लगाउने तथा भ्रामक सूचना सम्प्रेषण गर्ने काम भइरहेको दाबी गरेका हुन्। उनका अनुसार ‘शरु शर्मा’ नामको नक्कली फेसबुक आईडीमार्फत यस्तो गतिविधि सक्रिय रूपमा भइरहेको छ।

भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण शनिबार बसेको सचिवालय बैठकको अध्यक्षता नगरेको पनि उल्लेख गरेका छन्। उक्त बैठकको अध्यक्षता पार्टी उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए।

उनले यस्तो शोकको समयमा एक–अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति दिनु उचित नहुने बताएका छन्। पार्टीको एकता जोगाउनु, संगठनलाई रूपान्तरण गर्नु र गुमेको जनविश्वास पुनः प्राप्त गर्नु अहिले पार्टीको प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ।

भट्टराईले गलत सूचना र घृणायुक्त अभिव्यक्ति रोक्न आग्रह गर्दै तथ्य र तर्कका आधारमा उचित समयमा पार्टीभित्र बहस र छलफल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। यसैबीच शनिबार ओली निवास गुन्डुमा बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फका १६ जना सांसदको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।