युएईका तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न इरानको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of युएईका तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न इरानको चेतावनी

काठमाडौ । इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको छ।

अमेरिका र इजरायल सँग जारी युद्ध तेस्रो सातामा प्रवेश गर्न लागेका बेला इरानले पहिलो पटक छिमेकी देशका गैर–अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने संकेत दिएको हो। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार इरानले दुबईस्थित जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको हो।

इरानले युएईका बन्दरगाह, डक तथा आश्रयस्थल प्रयोग गरेर संयुक्त राज्य अमेरिका ले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ। त्यसपछि इरानले अमेरिकी सेना रहेको भनिएको क्षेत्रबाट मानिसहरूलाई तत्काल बाहिरिन आग्रह गरेको हो।

चेतावनीपछि दुबईको जबेल अली र अबुधाबीको खलिफा बन्दरगाहमा कुनै आक्रमण भएको संकेत भने देखिएको छैन। तर इरानी ड्रोनलाई अवरोध गर्दा खसेको भग्नावशेषका कारण फुजैराहस्थित तेल पूर्वाधारमा आगलागी भएको खबर सार्वजनिक भएको छ ।