अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्त इराक छाड्न आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । इराकस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले आफ्ना नागरिकहरूलाई तुरुन्त इराक छाड्न आग्रह गरेको छ। बगदादमा रहेको अमेरिकी दूतावास भवनमा मिसाइल आक्रमण भएपछि यस्तो चेतावनी जारी गरिएको हो।
शनिबार बिहान बगदादस्थित अमेरिकी दूतावास परिसरमा मिसाइल प्रहार भएको जनाइएको छ। उक्त आक्रमणपछि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूलाई तत्काल देश छाड्न र त्यहाँ बस्ने योजना बनाइरहेका व्यक्तिहरूलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
दूतावासले सामाजिक सञ्जाल मार्फत जारी गरेको सन्देशमा इरान र उसका सहयोगी मिलिसिया समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरिरहेको उल्लेख गरेको छ। सन्देशमा अमेरिकी नागरिक, अमेरिकी हित तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमणहरू भइरहेका दाबी गरिएको छ।
आक्रमणपछि दूतावास परिसरबाट बाक्लो धुवाँ उठिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ। सुरक्षा जोखिम उच्च रहेको भन्दै दूतावासले बगदादस्थित दूतावास वा अर्बिलस्थित अमेरिकी महावाणिज्य दूतावासमा आउन प्रयास नगर्न पनि चेतावनी दिएको छ।
दूतावासले इराकको हवाई क्षेत्रमा रकेट, ड्रोन र मोर्टार आक्रमणको जोखिम निरन्तर रहेको भन्दै अमेरिकी नागरिकहरूलाई अत्यन्त सावधानी अपनाउन र सकेसम्म चाँडो सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।












