वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक

काठमाडौ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ दरअनुसार फागुन महिनाको तुलनामा औसत ब्याजदर केही घटेको छ।

सार्वजनिक गरिएको विवरणअनुसार चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत कायम गरिएको छ भने संस्थागत निक्षेपतर्फ औसत ब्याजदर ३.२९ प्रतिशतमा झरेको छ। यसअघि फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.५६ प्रतिशत र संस्थागत निक्षेपतर्फ ३.३३ प्रतिशत रहेको थियो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले आफ्नो ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक लिमिटेड, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।

बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा बचतकर्ताले पाउने प्रतिफलमा केही कमी आउन सक्छ भने बैंकिङ प्रणालीमा तरलता अवस्था केही सहज भएको संकेतका रूपमा पनि यसलाई हेरिएको छ। बैंकहरूले बजारको माग, तरलता अवस्था र वित्तीय नीतिका आधारमा समय–समयमा ब्याजदर समायोजन गर्दै आएका छन्।