अमेरिकी विमान नष्ट नभएको ट्रम्पको दावी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अमेरिकी विमान नष्ट नभएको ट्रम्पको दावी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँचवटा अमेरिकी ट्याङ्कर विमान गम्भीर रूपमा क्षतिग्रस्त भएको भन्ने मिडिया रिपोर्टलाई अस्वीकार गरेका छन्। उनले त्यस्ता समाचारलाई ‘फेक न्युज’ भन्दै वास्तविकता तोडमोड गरिएको आरोप लगाएका छन्।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा रहेका अमेरिकी ट्याङ्कर विमानहरू आक्रमणमा परेर गम्भीर क्षति पुगेको दाबी गरेका थिए। तर ट्रम्पले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै त्यस्ता दाबीहरू भ्रामक भएको बताएका हुन्।

ट्रम्पका अनुसार केही दिनअघि उक्त एयर बेसमाथि आक्रमण भएको सत्य भए पनि विमानहरू न त खसालिएका थिए न त नष्ट नै भएका थिए। उनले पाँचमध्ये चार विमानलाई लगभग कुनै क्षति नभएको र ती पुनः सेवामा फर्किसकेको बताएका छन्।

उनका अनुसार एउटा विमानमा सामान्य क्षति देखिए पनि त्यसको मर्मत भइरहेको छ र छिट्टै पुनः उडानका लागि तयार हुने अवस्थामा पुग्नेछ। उनले कुनै पनि विमान पूर्ण रूपमा नष्ट नभएको स्पष्ट पारेका छन्।

यसैबीच ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच स्ट्रेट अफ होर्मुज ‘कुनै पनि हालतमा’ खुला राख्नुपर्ने बताएका छन्। उनले विश्वका प्रमुख राष्ट्रहरूलाई समुद्री मार्ग सुरक्षित राख्न सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।