समानुपातिक सांसद छनोटमा दलहरू सक्रिय, आज रास्वपा र कांग्रेसको बैठक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिकतर्फका सांसद छनोट प्रक्रिया तीव्र बनेको छ। निर्वाचनमा प्राप्त सिटका आधारमा राजनीतिक दलहरूले धमाधम समानुपातिक सांसदको नाम चयन गर्न थालेका छन्।
निर्वाचन आयोगले फागुन २८ गते राजनीतिक दलहरूलाई पत्र पठाउँदै समानुपातिकतर्फ प्राप्त मतका आधारमा सिट संख्या निर्धारण गरी तीन दिनभित्र सांसदहरूको नाम पठाउन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार दलहरूले यसअघि पेश गरेको बन्दसूचीबाट नियमअनुसार सांसद छनोट प्रक्रिया अघि बढाएका हुन्।
यसक्रममा नेकपा एमालेले शनिबार नै समानुपातिक सांसदहरूको नाम टुंगो लगाइसकेको छ। अन्य प्रमुख दलहरूले भने छलफललाई तीव्र बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटलगायत विषयमा निर्णय गर्न आज बिहान १० बजे पार्टी सचिवालय बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झा का अनुसार बैठक काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
त्यसैगरी नेपाली कांग्रेसले पनि समानुपातिक सांसद चयनका लागि आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक ललितपुरस्थित बीपी नगरको बीपी स्मृति भवनमा बस्ने कांग्रेसले जनाएको छ।
बैठकले बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी आयोगमा पठाउने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।
आयोगले तोकेको समयसीमाभित्र नामावली बुझाउनुपर्ने भएकाले प्रमुख राजनीतिक दलहरू अहिले समानुपातिक सांसद छनोटमा व्यस्त देखिएका छन् ।







