एनआरएनए अध्यक्ष केसीको गुनासो: 'सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता व्यवहारमा काम लागेन’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले वितरण गरेको गैरआवासीय नेपाली नागरिकता प्रभावकारी रूपमा प्रयोग गर्न नसकिने अवस्था बनेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित संघको १२औँ एकता महाधिवेशनमा बोल्दै अध्यक्ष केसीले सरकारको नीतिगत कमजोरीका कारण उक्त नागरिकताको प्रमाणपत्र व्यवहारमा काम नलाग्ने भएको बताए।
उनका अनुसार सरकारले गैरआवासीय नेपाली नागरिकताको अधिकार स्पष्ट पार्ने कानुन नबनाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ। त्यसका कारण अहिले गैरआवासीय नेपाली नागरिकता लिनेहरूले पुरानो नेपाली नागरिकता गुमाउने तर नयाँ नागरिकताले पनि व्यवहारिक रूपमा काम गर्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए।
केसीले आफूले करिब दुई वर्षअघि प्रधानमन्त्रीको हातबाट गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएको स्मरण गर्दै अहिले त्यो प्रमाणपत्र प्रयोग गर्न नसकिएको गुनासो गरे। “सरकारले दिएको नागरिकताको प्रमाणपत्र आज व्यवहारमा चल्ने अवस्थामा छैन,” उनले भने, “यसलाई प्रभावकारी बनाउन गैरआवासीय नेपालीसम्बन्धी ऐनमा परिवर्तन गर्न आवश्यक छ।”
उनले कुनै पनि प्रमाणपत्र दिनुअघि त्यसले दिने अधिकार र कानुनी आधार स्पष्ट हुनुपर्नेमा जोड दिए। तर सरकारबाट त्यसो नगरी प्रमाणपत्र वितरण गरिएको भन्दै उनले यसलाई गम्भीर कमजोरीको रूपमा टिप्पणी गरे।
अध्यक्ष केसीले अब बन्ने सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी स्पष्ट कानुनी व्यवस्था छिट्टै ल्याउनुपर्ने माग गरे। साथै विदेशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेर उनीहरूको लगानी नेपाल भित्र्याउन सकिने धारणा व्यक्त गरे।
उनले हाल नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीहरूले विभिन्न कानुनी सीमाका कारण समस्या भोगिरहेको पनि बताए। त्यस्तै मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे।












