एमालेले टुंग्यायो समानुपातिक सांसदको सूची, १६ जनाको नाम सार्वजनिक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट चयन हुने सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले १६ जनाको नाम अनुमोदन गरेको एमालेले जनाएको छ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने गरी सांसद चयन गरिएको हो। एमालेले यसपटक समानुपातिकतर्फ १६ सिट जितेको थियो।
जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्। खस–आर्य क्लस्टरबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल र पुष्पराज कंडेल को नाम समावेश गरिएको छ।
थारु क्लस्टरबाट कृपाराम राणा चयन भएका छन् भने दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी लाई अवसर दिइएको छ। त्यसैगरी मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल चयन भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दीकी लाई समानुपातिक सांसद बनाउने निर्णय गरिएको एमालेले जनाएको छ।
एमालेले तयार पारेको यो नामावली अब औपचारिक प्रक्रियाका लागि निर्वाचन आयोगमा बुझाइने छ। आयोगबाट स्वीकृत भएपछि उनीहरू प्रतिनिधिसभाका समानुपातिक सांसदका रूपमा घोषणा हुनेछन्।







