सभापति थापालाई ३५ केन्द्रीय नेताको आग्रह: ‘हार भए पनि नेतृत्व नछोड्नुहोस्’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम आएपछि नेपाली कांग्रेसभित्र नेतृत्वबारे बहस तीव्र बनेको छ। यही क्रममा केन्द्रीय समितिका ३५ नेताले पार्टी सभापति गगनकुमार थापा लाई भेटेर पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा पुगेका नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा सभापति परिवर्तन गर्नु उचित नहुने बताएका हुन्। उनीहरूले निर्वाचन परिणाम निराशाजनक भए पनि नेतृत्वले नै संकटको सामना गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
भेटपछि सहमहामन्त्री रसाइलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको जटिल अवस्थामा सभापतिले पद त्याग गर्नु उचित नहुने आफूहरूले स्पष्ट रूपमा बताएको जानकारी दिए। उनका अनुसार पार्टीभित्र एकता कायम राख्दै आगामी रणनीति बनाउन वर्तमान नेतृत्व आवश्यक रहेको नेताहरूको निष्कर्ष छ।
सभापति थापालाई भेट्न केन्द्रीय सदस्यहरू जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाई, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजार लगायतका नेताहरू सहभागी भएका थिए।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेको भन्दै सभापति थापा पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताइएको छ। तर पार्टीका केही नेताहरूले यस्तो अवस्थामा नेतृत्व परिवर्तनले थप अस्थिरता ल्याउन सक्ने भन्दै उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गरिरहेका छन्।
यसअघि कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पनि सभापति थापालाई तत्काल राजीनामा नदिन सुझाव दिएका थिए। उनले पार्टीभित्र विस्तृत समीक्षा गरेर मात्रै भविष्यको निर्णय लिनुपर्ने धारणा राखेका थिए।
निर्वाचन परिणामपछि नेपाली कांग्रेसभित्र आत्मसमिक्षा र नेतृत्वको भूमिकाबारे बहस चुलिँदै गएको छ। सभापति थापाले राजीनामाबारे अन्तिम निर्णय के लिन्छन् भन्ने विषय अहिले पार्टीभित्र चासोको केन्द्र बनेको छ।







