पदमुक्त गरिएका राप्रपाका दुई नेताको आपत्ति, कारबाही विधानविपरीत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पदमुक्त गरिएका राप्रपाका दुई नेताको आपत्ति, कारबाही विधानविपरीत

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथि गरिएको कारबाही पार्टी विधानविपरीत भएको जिकिर गरेका छन्।

राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले शनिबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरणको मौका समेत नदिई केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकार क्षेत्र मिचेर आफूहरूलाई पदबाट हटाइएको बताएका हुन्।

गत फागुन २८ गते पार्टी अध्यक्ष राजेन्द्र लि   ले राजभण्डारी र आचार्यलाई साधारण सदस्य मात्र रहने गरी अन्य सबै जिम्मेवारीबाट पदमुक्त गरेका थिए। विज्ञप्तिमा उनीहरूले यस्तो निर्णय किन र कुन आधारमा गरिएको हो भन्नेबारे स्पष्ट पार्न पार्टी अध्यक्षसँग आग्रह गरेका छन्।

“पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर हामीलाई पदमुक्त गरिएको हो ? यसबारे केन्द्रीय कार्यसमिति नै बेखबर रहेको अवस्थामा सार्वजनिक रूपमा स्पष्ट पार्न अध्यक्षज्यूलाई अनुरोध गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ। उनीहरूले पार्टी अध्यक्षबाटै विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएको भन्दै खेद प्रकट गरेका छन्।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी मूल नेतृत्वले लिनुपर्ने उनीहरूको भनाइ छ। “निर्वाचनमा पार्टीले भोगेको लज्जास्पद हारको सम्पूर्ण जिम्मेवारी हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दा वास्तविक तथ्य बदलिँदैन,” विज्ञप्तिमा भनिएको छ, “हामीलाई कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुँदैन।”