रवि निवासमा राजनीतिक चहलपहल, सरकार गठन बारे छलफल तीब्र
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवासमा नयाँ सरकार गठनबारे छलफल तीव्र भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत प्राप्त भएपछि पार्टीका शीर्ष नेताहरू बुढानिलकण्ठस्थित लामिछानेको घरमा भेला भएर संवाद र परामर्शमा जुटेका हुन्।
छलफलमा वरिष्ठ नेता बालेन शाह सहितका नेताहरू सहभागी रहेका छन्। रास्वपाले निर्वाचनमा बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी मैदानमा उत्रिएको थियो।
लामिछानेका प्रमुख स्वकीय सचिव अभिनास आचार्यका अनुसार पछिल्ला केही दिनदेखि सभापतिको घरमै दैनिक रूपमा शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। उनले सभापतिको स्वास्थ्य अवस्थाका कारण बैठकहरू घरमै आयोजना गरिएको बताए।
रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलका अनुसार लामिछानेलाई ज्वरो र युरिन इन्फेक्सन भएपछि उपचारका लागि त्रिबि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो र उनलाई भेनबाट औषधि दिइएको थियो।
यसअघि जनकपुरमा चुनावी सभामा जाने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो। अहिले उक्त घाउ निको हुँदै गएको बताइएको छ। पार्टी स्रोतका अनुसार समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे नेताहरूबीच निरन्तर छलफल भइरहेको छ।







