कांग्रेसले चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने
Prime TV News ३ हप्ता अगाडि काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गर्न चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनको समग्र अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार निर्वाचनमा भएका गतिविधि र परिणामबारे विस्तृत समीक्षा गर्न जिल्ला–जिल्लाबाट प्रतिवेदन माग गरिएको छ। ती प्रतिवेदन आउने क्रम सुरु भइसकेको उनले बताए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस यसपटक भने दोस्रो स्थानमा झरेको छ। साथै संसद्मा इतिहासकै कमजोर प्रतिपक्षीका रूपमा उभिनुपर्ने अवस्था बनेको छ । यस निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सिट मात्रै हासिल गरेको छ।
निर्वाचन परिणामपछि पार्टीभित्र कारण खोज्ने र आगामी रणनीति तय गर्ने उद्देश्यले केन्द्रीय कार्यसमिति बैठक बोलाउन लागिएको बताइएको छ।







