ग्याँस र पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले ग्याँस र अन्य पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारले तत्काल कदम चाल्न निर्देशन दिएको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा यस सम्बन्धमा जानकारी दिइएको हो।
विज्ञप्तिमा उल्लेख छ कि मध्यपूर्वमा उत्पन्न परिस्थितिका कारण काठमाडौं उपत्यकामा एलपीजी ग्याँसको अभाव भएको र यसले उपभोक्तामा चिन्ता र त्रास सिर्जना गरेको समाचारहरू सार्वजनिक तथा प्रसारित भएका थिए।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड लगायतका ग्यास बिक्री वितरण डिपोहरूको अनुगमन र अवलोकन गरेको जनाएको छ। अनुगमनबाट प्राप्त तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आपूर्ति आयातमा निर्भर रहँदै पनि सामान्यतया नियमित भइरहेको पाइयो। तर केही ग्यास कम्पनीको ढुवानी व्यवस्थापनमा समस्या हुँदा सञ्चार माध्यममार्फत् आपूर्तिमा समस्या देखिएको जस्तो सन्देश उपभोक्तामा गलत धारणा सिर्जना गरेको देखिएको छ।
आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन, कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण नियन्त्रण गर्न र अत्यावश्यक वस्तुहरूको आपूर्ति तुरुन्त सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।








