कांग्रेस र एमालेका नेताहरूले भने निर्वाचनको परिणामको गम्भीर समीक्षा हुन्छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेताहरूले निर्वाचन परिणाम अनपेक्षित आएको र त्यसलाई ध्यानमा राखेर पार्टी भित्र छलफल हुने जानकारी दिएका हुन्। उनीहरूले अहिले तत्काल नेतृत्वप्रति प्रश्न उठाउनु उपयुक्त नहुने पनि बताएका छन्।
नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले जनताले दिएको मतलाई पार्टीले स्वीकार्ने र निर्वाचनका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने बताइन्। उनले भनिन्, “निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी सभापति गगन थापा र केन्द्रीय समितिले लिनेछन्, तर सभापतिको राजीनामा अहिलेको विकल्प होइन। आगामी सरकारले काम गर्दा पार्टीले रचनात्मक सहयोग दिनेछ।”
नेकपा एमालेका नेता शेर बहादुर तामाङले भने निर्वाचन परिणामको लागि केवल नेतृत्वलाई दोष दिन नहुने र पार्टीभित्र गम्भीर समीक्षा गरिने बताए। उनले आगामी दिनमा कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो शक्ति बनाइने योजना रहेको पनि बताए।
तामाङले जेनजी आन्दोलनका घटनामा गठन भएको आयोगको प्रतिवेदनप्रति छेडखानी भएको आशंका व्यक्त गर्दै प्रतिशोधका उद्देश्यले कुनै कदम चालिएको भए स्वीकार्य नहुने बताए। उनले भ्रष्टाचारका सबै प्रकरणको छानबिन आवश्यक रहेको र भ्रष्ट नेतालाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे।







