एनआरएनएको आगामी नेतृत्व सहमतिपूर्ण रूपमा चयन हुने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एनआरएनएको आगामी नेतृत्व सहमतिपूर्ण रूपमा चयन हुने

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व सहमतिपूर्ण रूपमा चयन हुने भएको छ। अध्यक्ष पदका प्रत्याशी रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अर्का प्रत्याशी हेमराज शर्मालाई समर्थन गरेका छन्।

एनआरएनएका अध्यक्ष बद्री केसी र महेश श्रेष्ठ सहित भएको उच्चस्तरीय वार्तापछि शेरचनलाई वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन गराउने सहमति भएको हो। शेरचनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराइसकेका छन्।

शेरचनले भने, “संस्थाको एकता मेरो प्राथमिकता हो। संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको छु र वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएको छु।” स्रोतका अनुसार उनलाई १३औँ महाधिवेशनमा अध्यक्ष बनाउने सहमति पनि प्राप्त भएको छ।

अध्यक्ष महेश श्रेष्ठले सहमति बनेको भन्दै चुनाव प्रक्रियालाई मिलाएर अघि बढाइएको बताए। यसअघि अध्यक्ष पदमा शेरचन, शर्मा र राेविन बच्रचार्यले उम्मेदवारी दिएका थिए। अन्य पदका उम्मेदवारलाई पनि सहमतिपूर्वक उम्मेदवारी फिर्ता लिन पहल भइरहेको छ।

तर महासचिव पदका उम्मेदवार रामशरण सिम्खडाले आफूले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन्। महासचिव पदमा चिरिञ्जिवी खड्काले पनि उम्मेदवारी दिएका छन्। केही महिनाअघि विभाजित एनआरएनए एकीकृत भएको थियो। शनिबारदेखि १२औँ महाधिवेशन सुरु हुँदैछ। सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले कार्यतालिका हेरफेर गरेको छ।