रगतको बदला रगतबाटै लिन्छौः मोज्तबा खामेनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रगतको बदला रगतबाटै लिन्छौः मोज्तबा खामेनी

काठमाडौ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले पदभार सम्हालेयताकै पहिलो पटक कडा सार्वजनिक सन्देश जारी गरेका छन्। उनले अमेरिका र इसराइलको इरानमाथिको आक्रमणको “रगतको बदला रगतबाटै लिने” चेतावनी दिएका छन्।

फेब्रुअरी २८ मा भएको संयुक्त आक्रमणमा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूलाई निशाना बनाइएको थियो। त्यही दिन दक्षिणी इरानको मिनाबमा भएको हवाई हमलामा १७५ भन्दा बढी विद्यार्थीहरूको पनि मृत्यु भएको थियो।

नयाँ नेता खामेनीले स्ट्रेट अफ हर्मुज बन्द गर्ने रणनीति जारी राख्न सेनालाई निर्देशन दिएका छन्। यो जलमार्ग विश्वको २० प्रतिशत तेल ढुवानीको लागि प्रयोग हुन्छ र इरानले यहाँ नाकाबन्दी लगाएको छ। तेल ट्यांकरहरूलाई निशाना बनाइँदा विश्व बजारमा तेलको मूल्य बढ्दै गएको छ।

खामेनीले मध्यपूर्वका अन्य देशहरूमा अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी दिएका छन् र आवश्यक परे नयाँ मोर्चा खोल्ने संकेत पनि दिएका छन्। इरानले छिमेकी मुलुकहरूमा हिजबुल्लाह (लेबनन), हमास (गजा), हुथी (यमन) र इराकका विभिन्न समूहलाई हतियार र सैन्य तालिम प्रदान गर्दै इसराइलमाथि आक्रमण गरिरहेको छ। हालैको युद्धमा लेबननबाट हिजबुल्लाहले इसराइलमाथि हमला गरिरहेको छ र खामेनीले हिजबुल्लाहलाई धन्यवाद दिएका छन्।

इरानी सुरक्षा विश्लेषकहरुका अनुसार नयाँ सर्वोच्च नेताको सन्देश उनका पिताभन्दा अझ कडा र स्पष्ट सैन्य रणनीति झल्काउने खालको छ, जसले आगामी दिनमा इरानको नीतिगत दिशा अझ आक्रामक हुन सक्ने संकेत दिन्छ। हालसम्म खामेनी सार्वजनिक रूपमा देखा परेका छैनन्। प्रारम्भिक आक्रमणको क्रममा उनी घाइते भएका थिए र सुरक्षा जोखिमका कारण उनको स्थान गोप्य राखिएको बताइएको छ।