राजनीतिक अन्योल र भ्रामक प्रचारले चुनावी परिणाम प्रभावित : नेकपा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे नेपाली कम्युनिष्ट पार्टीले लोकतन्त्रलाई पुनः सही मार्गमा ल्याउन सकारात्मक वातावरण बनेको निष्कर्ष निकालेको छ। पार्टीले मातहतका कमिटीहरूलाई ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै असामान्य राजनीतिक परिस्थितिमा सम्पन्न भएको निर्वाचनले लोकतान्त्रिक प्रक्रियालाई पुनः लयमा ल्याउन सहयोग पुगेको जनाएको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधब नेपालले हस्ताक्षर गरेको निर्देशनपत्रमा मतदाताले दिएको अभिमतलाई सम्मान गर्दै पार्टीले अब संसदमा जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट गरिएको छ।
नेकपाले निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै त्यसका पछाडि केही कारण रहेको पनि जनाएको छ। पार्टी एकता प्रक्रिया भर्खरै अघि बढिरहेको अवस्थामा संगठन समायोजनको काम पूरा नहुँदै निर्वाचनमा होमिनुपरेको अवस्थालाई मुख्य कारणका रूपमा औंल्याइएको छ।
त्यसैगरी छोटो समयका कारण पार्टीका विचार, नीति, कार्यक्रम तथा नयाँ चुनाव चिह्न जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्न नसकिएको नेतृत्वको बुझाइ रहेको छ। पार्टीले भदौ २३ र २४ गतेको घटनापछिको राजनीतिक अन्योल तथा सञ्चारमाध्यममार्फत फैलाइएका भ्रामक र नकारात्मक प्रचारका कारण पनि निर्वाचनको वातावरण आफ्नो अनुकूल बन्न नसकेको दाबी गरेको छ।







