समानुपातिक सिट बाँडफाँट सार्वजनिक, रास्वपाको पुगेन दुई तिहाइ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण मतगणना सम्पन्न भएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको जनाएको हो। आयोगका अनुसार तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका छ वटा दलले समानुपातिकतर्फ सिट प्राप्त गरेका छन्।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाको कुल सिट संख्या १८२ पुगेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक हुने भएकाले रास्वपालाई दुई सिट अपुग भएको छ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले २० सिट प्राप्त गरेको छ भने नेकपा एमालेले १६ सिट पाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ९ सिट प्राप्त गर्दा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४/४ सिट हासिल गरेका छन्।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको छ।
उल्लिखित सिट सङ्ख्याअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावलीअनुसार तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई पत्राचार गरिएको आयोगले जनाएको छ।
यसअघि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट हासिल गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक/एक क्षेत्रमा विजय हासिल गरेका छन्।







