निर्वाचनपछि अन्योल केही हटे पनि स्थिरता अझै चुनौती : अष्टलक्ष्मी शाक्य

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचनपछि अन्योल केही हटे पनि स्थिरता अझै चुनौती : अष्टलक्ष्मी शाक्य

काठमाडौ । अष्टलक्ष्मी शाक्य ले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योल केही हदसम्म हटाए पनि स्थिरताको प्रश्न अझै कायम रहेको बताएकी छन्।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरिन्। निर्वाचन सम्पन्न भएसँगै केही स्पष्टता आएको भए पनि देश कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा आम नागरिकमा अझै रहेको उनको भनाइ थियो।

नेतृ शाक्यले देशको अस्तित्व नै नागरिकको पहिचानसँग जोडिएको उल्लेख गर्दै सबै नेपालीले राष्ट्रप्रति माया र जिम्मेवारीको भावना राख्नुपर्नेमा जोड दिइन्। “नेपाल रह्यो भने मात्र हामी नेपाली रहन्छौँ,” भन्दै उनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको बताइन्।

एमालेकी नेतृसमेत रहेकी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन तथा संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य हासिल गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्। समाजवादतर्फ अघि बढ्न शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायका क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको उनले स्पष्ट पारिन्।

कार्यक्रममा उनले देशको समृद्धि, सुशासन र न्यायका लागि महिलाहरू राजनीतिक दलको सीमाभन्दा माथि उठेर एकजुट हुनुपर्ने धारणा पनि व्यक्त गरिन्। विभिन्न दलमा आबद्ध भए पनि राष्ट्रिय मुद्दामा महिलाहरूको एउटै आवाज हुनुपर्ने उनले बताइन्।

संविधानले महिलाका हक अधिकारलाई सुरक्षित गरेको र राज्यका विभिन्न निकायमा महिलाको पहुँच विस्तार भइरहेको सन्दर्भमा अब महिलाहरू निष्क्रिय भएर बस्न नहुने उनको भनाइ थियो।