नयाँ बन्ने सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनु पर्छः चन्द्र ढकाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ ।
नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्छ : ढकाल
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ बन्न लागेको सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन्। उनले यो कुरा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फर्मा एक्पोमा बताएका हुन्।
अध्यक्ष ढकालका अनुसार, निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको थियो र अब लगभग दुईतिहाइ बहुमत नजिकको सरकार बन्ने भएकोले यो अपेक्षा पूरा हुन सक्ने विश्वास गरिएको छ। ढकालले भने, “स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ। आगामी दिनमा नीतिहरू बनाउँदा बाह्य र आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने नीति ल्याउन आवश्यक छ।”
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा पनि निजी क्षेत्रमैत्री प्रतिबद्धता रहेको स्मरण गराउँदै ती प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानुनले लगानीकर्तामा निराशा सिर्जना गरेको र यस्ता कानुन लागू नहुने सुनिश्चितता राज्यले दिनुपर्ने बताए।
उनका अनुसार, यसरी स्थायी नीति लागु भएमा छोटो समयमा आर्थिक गतिविधि बढाउन सकिनेछ, रोजगारी सिर्जना हुनेछ, राजस्व संकलन बढ्नेछ र पूर्वाधार निर्माणमा सहयोग पुग्नेछ। ढकालले आर्थिक गतिविधि विस्तार भएपछि आम नेपालीको चाहना छोटो समयमा पूरा गर्न सकिने विश्वास व्यक्त गरे।












