मध्यपूर्व क्षेत्रमा तनावका कारण राजधानीमा एलपी ग्यासको अभाव
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । मध्यपूर्वमा बढ्दो तनावको असर नेपालमा पनि देखिन थालेको छ। खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि राजधानीका विभिन्न स्थानमा उपभोक्ताहरूले ग्यास अभाव झेल्न थालेका छन्।
बिहीबार बिहान राजधानीका बिभिन्न ग्यास बिक्री डिपोहरूमा उपभोक्ताको लामो लाइन देखिएको थियो। बिहानैदेखि रित्तो सिलिण्डर बोकेर आएका उपभोक्ताहरू ग्यास पाउने आशामा लाइनमा बसेका थिए। सीमित मात्रामा ग्यास उपलब्ध हुँदा केहीले मात्र भरिएको सिलिण्डर पाएका छन् भने धेरैजना निराश हुँदै फर्किएका छन्। कतिपय डिपोहरू भने आपूर्ति अभावका कारण बन्द रहेका छन्।
हाल अमेरिका, इजरायल र इरान बीच बढ्दो द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ। यसको प्रभाव खाडी क्षेत्रको प्रमुख समुद्री मार्गमा परेको बताइएको छ, जसबाट ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको छ।
नेपालमा ग्यास र पेट्रोलियम पदार्थ मुख्यत इन्डयाबाट आयात हुने भएकाले त्यहाँको आपूर्ति प्रणालीमा समस्या आउँदा नेपालमा पनि अभाव देखिएको हो। ग्यास तथा इन्धनको आपूर्ति व्यवस्थापन गर्ने नेपाल आयल निगमले समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ। तर हालसम्म बजारमा आपूर्ति सहज हुन नसक्दा धेरै उपभोक्ताले ग्यास अभावको समस्या भोगिरहेका छन्।







