निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको भन्दै ओलीले गरे हार स्वीकार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै हार स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने उल्लेख गरेका छन्।
ओलीले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
उनले कठिन परिस्थितिमा पनि साथ दिने समर्थकहरूको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताएका छन्। साथै उनले जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पारेका छन् । ओलीले हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र पार्टी–जनता सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै उनले आगामी राजनीतिक यात्रामा थप सक्रिय भएर अघि बढ्ने संकेत दिएका छन्। पोस्टको अन्त्यमा उनले सबै समर्थकप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दै चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई नरोक्ने बताएका छन्।







