सन् २०२६ को फिफा विश्वकपमा इरान सहभागी नहुने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सन् २०२६ को फिफा विश्वकपमा इरान सहभागी नहुने

काठमाडौ । इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान सुरक्षा र राजनीतिक अवस्था हेर्दा सन् २०२६ को फिफा विश्वकपमा इरान सहभागी हुन सक्ने अवस्था नरहेको बताएका छन्।

आगामी जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुने विश्वकपमा इरानले समूह चरणमा तीन खेल खेल्ने तालिका छ। कार्यतालिकाअनुसार इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।

तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि इरानको विश्वकप सहभागिता अनिश्चित बनेको हो। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल तथा अमेरिकी सैन्य आधार रहेका अन्य देशतर्फ मिसाइल र ड्रोन प्रहार गरेको थियो, जसका कारण क्षेत्रीय तनाव अझ बढेको छ।

आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा मन्त्री दुन्यामालीले वर्तमान परिस्थितिमा खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न नसकिने बताएका छन्। उनका अनुसार युद्ध र अस्थिरताको वातावरणमा टोलीलाई विश्वकपमा पठाउने उपयुक्त अवस्था बनेको छैन।

उनले पछिल्लो आठ–नौ महिनामा दुईवटा युद्ध भएको र हजारौ इरानी नागरिक मारिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुने सम्भावना निकै कम रहेको बताए।

यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटपछि इरानलाई विश्वकपमा सहभागी हुन अमेरिका तयार रहेको बताएका थिए। उनले फुटबलले विश्वलाई एकताबद्ध गर्ने भएकाले यस्तो प्रतियोगिता अझ आवश्यक भएको बताएका थिए।

उता इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि इरानको विश्वकप सहभागितामाथि प्रश्न उठाएका छन्। उनका अनुसार सुरक्षा अवस्था यस्तै रहिरहे टोलीलाई अमेरिकामा पठाउने निर्णय कठिन हुने देखिन्छ।

यदि इरानले औपचारिक रूपमा विश्वकपबाट नाम फिर्ता लिएमा फिफासँग प्रतिस्थापन टोली छनोट गर्ने अधिकार हुनेछ। सम्भावित रूपमा एसियाली फुटबल महासंघभित्रकै कुनै टोलीलाई अवसर दिन सकिने अनुमान गरिएको छ। इराक वा संयुक्त अरब इमिरेट्स विकल्प हुन सक्ने चर्चा भए पनि अन्तिम निर्णय भने फिफाले गर्नेछ।

हालका लागि फिफाले इरानले न्युजिल्याण्ड, बेल्जियम र इजिप्टसँग तय भएका खेल खेल्ने अपेक्षा कायम राखेको छ। तर इरानले सहभागी हुन अस्वीकार गरे त्यसले विश्वकप प्रतियोगितामा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।