कम्युनिष्ट आन्दोलन नसच्चिए ठूलो संकट आउन सक्छ : गोकुल बाँस्कोटा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कम्युनिष्ट आन्दोलन नसच्चिए ठूलो संकट आउन सक्छ : गोकुल बाँस्कोटा

काठमाडौ । गोकुल बाँस्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन समयमै नसच्चिए भविष्यमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्। नेकपा एमालेका नेता तथा पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन्।

उनले पाँच वर्षअघि नै तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको उत्कर्ष र पतनबारे आफूले अनुमान गरेको स्मरण गरेका छन्। वाम शक्तिहरू एक ठाउँमा आउँदा जनतामा ठूलो उत्साह देखिए पनि विचार, संगठन र व्यवहारको आधार कमजोर भएकाले एकता टिक्न नसकेको उनको भनाइ छ।

बास्कोटाले लेखेका छन् कि वामपन्थी दलहरू मिल्दा जनतामा अभूतपूर्व आशा जागेको थियो, तर नेतृत्व तहमा देखिएको कार्यशैली र कमजोर आधारका कारण त्यो एकता टिक्न सकेन। उनले सोभियत संघको विघटनबाट पाठ नसिक्नु र चिनियाँ मोडेलको नक्कल गर्न खोज्नु असफल भएको टिप्पणी पनि गरेका छन्।

उनका अनुसार कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइसकेको छैन, तर समयमै आत्मसमीक्षा र सुधार नगरे भविष्यमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ। उनले आगामी चुनाव वा राजनीतिक परिस्थितिमा आन्दोलन नै कमजोर हुन सक्ने संकेत गरेका छन् ।