स्वच्छ र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न : गृहमन्त्री अर्याल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुरक्षा निकाय र प्रशासनिक संयन्त्रका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन्।
गृह मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापनको समीक्षा गर्दै मन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न सम्भव भएको बताए।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश कमाण्ड पोस्टका पदाधिकारी तथा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरू सहभागी थिए।
मन्त्री अर्यालले निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि संविधानले सही दिशा लिएको र राजनीतिक सुशासनको आधार बलियो बनेको बताए। उनले केन्द्रदेखि फिल्डसम्म खटिएका सबै कर्मचारीको सामूहिक प्रयासका कारण ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गरे।
त्यस्तै गृहसचिव श्रेष्ठले सुरक्षा निकायका अधिकारीहरूले व्यावसायिक निष्ठा र निष्पक्षताका साथ जिम्मेवारी निर्वाह गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत निर्वाचनको व्यवस्थापनबारे उच्च प्रशंसा प्राप्त भएको जानकारी दिए।
भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले पनि आ–आफ्नो क्षेत्रको अनुभव सुनाउँदै विगत तीन दशकका निर्वाचनभन्दा यसपटकको निर्वाचन थप व्यवस्थित, निष्पक्ष र त्रुटिरहित रूपमा सम्पन्न भएको बताएका थिए। उनीहरूले यस सफलतामा गृहमन्त्री अर्यालको नेतृत्व र समन्वयकारी भूमिकाको प्रशंसा गरेका छन्।







