विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छः जितजंग बस्नेत
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जितजंग बस्नेतले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सँग राजीनामा माग गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित पार्टीका राष्ट्रियसभा बहालवाला तथा नवनिर्वाचित सांसदहरूको परिचयात्मक अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले यस्तो माग गरेका हुन् । उनले कांग्रेसले हालैको निर्वाचनमा व्यहोरेको हारको मुख्य कारण पार्टीले गरेको विशेष महाधिवेशन भएको दाबी गरे। बस्नेतले उक्त विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको पनि बताए।
बस्नेतका अनुसार विशेष महाधिवेशनको नाममा पार्टीभित्र प्रक्रियागत रूपमा नेतृत्व कब्जा गरिएको छ। उनले केही नेताहरूले निर्वाचन आयोगसँग ‘सेटिङ’ गरेर कांग्रेसको नेतृत्व कब्जा गरेको आरोप समेत लगाए। “विशेष अधिवेशन नाममा एउटा भेला गरेर पार्टी क्याप्चर गरियो। निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरिएको हो,” बस्नेतले भने, “यही कारणले आज हामी निर्वाचनमा हारेका छौं।”
उनले पार्टीलाई पुनः बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै सभापति थापाले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने तर्क गरे। यद्यपि उनले पार्टीभित्र एकता कायम गरेर जनताले दिएको म्यान्डेट स्वीकार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए। बस्नेतले कांग्रेस पुनः सशक्त बन्नका लागि आन्तरिक एकता अनिवार्य रहेको बताए।







