राष्ट्रिय सभा सदस्यबीच कांग्रेसको अन्तरक्रिया कार्यक्रम
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका बहालवाला तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूबीच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ।
सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा पुराना र नयाँ सांसदहरूबीच परिचय, अनुभव आदान–प्रदान तथा आगामी संसदीय गतिविधिबारे छलफल गरिएको जनाइएको छ।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो।
राष्ट्रिय सभाको रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने प्रावधान रहेको छ। माघ ११ मा भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो।
कांग्रेसले राष्ट्रिय सभा सदस्यहरूबीच समन्वय र प्रभावकारी संसदीय भूमिकाका लागि यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाएको छ।







