नेप्से परिसूचक बुधबार पनि घट्यो, कारोबार रकममा गिरावट

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से परिसूचक बुधबार पनि घट्यो, कारोबार रकममा गिरावट

काठमाडौ । बुधबार नेप्से परिसूचक फेरि घटेर २७९६.५७ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन मंगलबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से परिसूचक ४६.७८ अंकले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ८.३२ अंक, फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंकले घटेको छ।

कारोबार रकममा पनि गिरावट देखिएको छ। बुधबार ३२९ स्टकमा १ लाख १५ हजार ५५० पटकको कारोबारमा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ। अघिल्लो दिनको २१ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबारको तुलनामा यो रकम घटेको हो।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयर मूल्य ७८.४० रुपैयाँले बढेर अन्तिम कारोबारमा ८६२.४० रुपैयाँ पुगेको छ। त्यस्तै, नेशनल हाइड्रोपावरको शेयर करिब १० प्रतिशत र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि कालिका पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८.४७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको शेयर बुधबार ८५ करोड ९४ लाख रुपैयाँबराबर किनबेच भयो। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ५१ करोडभन्दा बढी र नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बुधबार १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशतले घटेको छ। त्यस्तै, वित्त उपसमूह २ प्रतिशतभन्दा बढी र बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।