निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेसका ११ नेतालाई कारबाहीको लागि सिफारिस
Prime TV News ३ हप्ता अगाडि 
सिराहा । नेपाली कांग्रेसका सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले पार्टीलाई असहयोग गरेको आरोपमा केन्द्रीय र स्थानीय गरी ११ नेतामा पाँच वर्षे कारबाही सिफारिस गरेका छन्।
सिफारिसमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा सिराहा–१ मा यी नेताहरूले पार्टीको उमेदवारको विरुद्धमा अन्य पार्टी रास्वपा, जनमत र स्वतन्त्र सँग मिलेर पार्टी हितविपरीत काम गरेको उल्लेख गरिएको छ।
यसका कारण उनीहरूले उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही माग गरिएको हो। कारबाही सिफारिसमा समावेश नेताहरूमा पूर्वकेन्द्रीय सदस्य एवं महासमिति सदस्य पदमनारायण चौधरी, महासमिति सदस्य सन्तोष चौधरी, महाधिवेशन प्रतिनिधि गौरीनारायण चौधरी, जिल्ला कार्यसमितिका सदस्य रामगणेश दास, क्षेत्रीय समितिका सहसचिव मुकेश महतो, क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्ता, बुथ सभापति अम्बराज मिश्र, बुथ सभापति विनोद साह, क्षेत्रीय सदस्य गोपालकृष्ण यादव, थारु संघ सिरहाका अध्यक्ष अजय चौधरी र नेपाल लोकतान्त्रिक खेलकुद संघ सिरहाका अध्यक्ष आनन्द चौधरी रहेका छन्।
सिफारिसअनुसार, कारबाही पर्नेलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षको प्रतिबन्ध लगाउने माग गरिएको छ। पार्टीले यस कदममार्फत भित्रै अनुशासन कायम राख्ने प्रयास गरेको बताएको छ भने अन्तिम निर्णय केन्द्रीय अनुशासन समितिको निर्णयपछि सार्वजनिक हुने छ।








