अवकाश नजिकिँदै गर्दा प्रधानन्यायाधीश राउतले मुद्दा हेर्न छाडे

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अवकाश नजिकिँदै गर्दा प्रधानन्यायाधीश राउतले मुद्दा हेर्न छाडे

काठमाडौ ।  प्रकाशमानसिंह राउतले अवकाश नजिकिँदै गर्दा सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ गर्न छाडेका छन्।

सर्वोच्च अदालतको पेसी सूचीअनुसार राउतले गत फागुन १८ गतेयता कुनै पनि मुद्दामा सुनुवाइ गरेका छैनन्। अवकाश पाउने समय नजिकिएसँगै सर्वोच्चको पेसी सूचीमा उनको लागि नयाँ मुद्दा राख्न पनि छाडिएको छ। ६५ वर्षे उमेरहदका कारण उनी आगामी चैत १८ गतेबाट अवकाशमा जाँदैछन्। यही कारण अवकाश हुन करिब एक महिनाअघि नै उनले नियमित मुद्दा हेर्न बन्द गरेका हुन्।

यस अवधिमा प्रधानन्यायाधीशको नेतृत्वमा बस्ने संवैधानिक इजलास पनि बसेको छैन। स्रोतका अनुसार आकस्मिक वा जटिल प्रकृतिका संवैधानिक विवाद परेमा मात्र उनी इजलासमा बस्न सक्ने सम्भावना रहेको बताइएको छ।

सर्वोच्च अदालतको विवरणअनुसार फागुन १३ गते राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी पूर्ण इजलासमा ३९ वटा मुद्दा सुनुवाइका लागि तय गरिएको थियो। तीमध्ये दुई मुद्दामा फैसला भएको थियो भने नौवटामा आदेश जारी भएको थियो। दुई मुद्दा स्थगित हुँदा २६ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका थिए।

यद्यपि राउतले अब नियमित मुद्दा नहेरे पनि न्याय परिषद् र न्याय सेवा आयोग सम्बन्धी प्रशासनिक काम भने निरन्तर गर्नेछन्। न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियाका अनुसार पछिल्लो पटक फागुन ५ गते केही नियुक्ति र पदस्थापनसम्बन्धी निर्णय गरिएको थियो। त्यसयता परिषद् वा आयोगमा नयाँ एजेन्डा आएर छलफल भएको छैन।

यसअघि राउतको अध्यक्षतामा बसेको बैठकले न्याय सेवाअन्तर्गत केदार कोइरालालाई उच्च अदालत सुर्खेतको रजिस्ट्रार, कानुन समूहका बालकृष्ण निरौलालाई मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिव तथा सरकारी वकिल समूहकी बिना दाहाललाई उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगामा सहन्यायाधिवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो।

त्यस्तै, गत माघ २१ गते उनले जिल्ला न्यायाधीशका लागि २० जनाको सिफारिस तथा नियुक्तिको निर्णयसमेत गरेका थिए।