सडकमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखरा मेयरको सुझाव
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । महावीर पुनले आफ्नो अभियानका लागि सडक तथा चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्।
मेयर आचार्यले अनुमतिबिना सडकमा पुस्तक बिक्री गर्दा ट्राफिक व्यवस्थापनमा असर पर्ने र कानुनविपरीत हुन सक्ने भन्दै पुस्तक व्यवसायीको सञ्जालमार्फत बिक्री गर्न सुझाव दिएका छन्। उनले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान तथा सादगीपूर्ण जीवनशैलीको उच्च प्रशंसा गरेका छन्। तर सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ सिर्जना हुन सक्ने र त्यो उनको उचाइलाई नसुहाउने उनको भनाइ छ।
‘फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा त्यही नियम तपाईंमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन,’ मेयर आचार्यले भनेका छन्। उनले दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्दा कानुनी जटिलता आउन सक्ने स्मरण गराएका छन्।
मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा दिँदै देशभरका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत पुस्तक बिक्री गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका छन्। ‘तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो,’ उनले भने, ‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सकिन्छ।’
यसरी अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिने विश्वास उनले व्यक्त गरेका छन्।












