इरान–अमेरिका युद्ध : १४० अमेरिकी सैनिक घाइते, आठको अवस्था गम्भीर
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । इरानसँग जारी सैन्य द्वन्द्वका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। युद्ध सुरु भएपछि अमेरिकी पक्षबाट भएको क्षतिबारे पहिलोपटक विस्तृत विवरण सार्वजनिक गरिएको हो।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा घाइते सैनिकमध्ये धेरैलाई सामान्य चोट लागेको बताएका छन्। उनका अनुसार घाइतेमध्ये १०८ सैनिक उपचारपछि पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन्।
तर केही सैनिकको अवस्था भने गम्भीर रहेको छ। पार्नेलका अनुसार आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएका छन् र उनीहरूको उपचार अझै जारी छ।
इरान र अमेरिकाबीच सुरु भएको ११ दिनको युद्धका क्रममा इरानले जवाफी कारबाहीस्वरूप रकेट र ड्रोनमार्फत विभिन्न सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ। ती आक्रमणहरू मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा केन्द्रित थिए।
जानकारीअनुसार कुवेत र साउदी अरबमा तैनाथ अमेरिकी सैन्य अड्डाहरूमा गरिएको आक्रमणमा सात अमेरिकी सैनिकको मृत्यु समेत भइसकेको छ। लगातार भइरहेको आक्रमण र प्रतिआक्रमणका कारण मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था अझै तनावपूर्ण बनेको छ।












