जेनजी आन्दोलन छानबिन प्रतिवेदन मन्त्रिपरिषद्मा पेस हुने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी आन्दोलन छानबिन प्रतिवेदन मन्त्रिपरिषद्मा पेस हुने

काठमाडौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिने भएको छ।

जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले अनुसन्धान तथा अध्ययन पूरा गरी आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाइसकेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोही प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिनेछ। प्रतिवेदन पेस भएपछि त्यसको आधारमा आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक बुधबार वा बिहीबार बस्ने सम्भावना छ। बैठकमा प्रतिवेदन पेस भएसँगै त्यसको कार्यान्वयनबारे निर्णय समेत हुन सक्ने बताइएको छ।

बालुवाटार निकट स्रोतका अनुसार नयाँ सरकार गठन हुनुअघि नै प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। हाल प्रधानमन्त्री तथा केही मन्त्रीहरूले प्रतिवेदनको अध्ययन गरिरहेको जनाइएको छ।

स्रोतका अनुसार प्रतिवेदन कार्यान्वयनमा गएपछि हालै निर्वाचित केही सांसदहरू समेत विवादमा तानिन सक्ने सम्भावना देखिएको छ। त्यसैले प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक वृत्तमा थप बहस र चर्चा हुने अनुमान गरिएको छ।