प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन चैत पहिलो सातामा राष्ट्रपतिलाई बुझाइने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२को प्रतिवेदन चैतको पहिलो साताभित्र रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको जनाएको छ।
आयोगका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट निर्वाचित हुने सांसदहरूको विवरण समेटेर प्रतिवेदन तयार गरिनेछ। प्रत्यक्षतर्फका १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ।
प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाल कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्। स्वतन्त्रतर्फबाट महावीर पुन निर्वाचित भएका छन्।
समानुपातिक प्रणालीतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। यस प्रणालीअन्तर्गत १ करोड ७७ लाखभन्दा बढी मत खसेको थियो भने अधिकांश मत गणना भइसकेको छ। मतगणना सकिएपछि आयोगले राजनीतिक दलहरूलाई समानुपातिकतर्फ आफ्नो भागमा परेका सांसदहरूको नामावली पठाउन पत्राचार गर्नेछ। कानुनी व्यवस्था अनुसार दलहरूलाई सूची पठाउन तीन दिनको समय दिइनेछ।
दलहरूले पठाएको सूचीमा संविधान र कानुनअनुसार समावेशी समूह मिलेको–नमिलेको अध्ययन गरी त्रुटि भए सच्याउन आयोगले समय दिनेछ। सबै प्रक्रिया पूरा भएपछि चैत ३ देखि ५ गतेभित्र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी आयोगको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै प्रक्रिया पूरा भएपछि प्रतिवेदन तयार गरी चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाइनेछ।







