एनएक्स्टी २०२६ समिटमा सहभागी हुन बाबुराम भट्टराई भोली भारत जाँदै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एनएक्स्टी २०२६ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत जाने भएका छन्।
उनको सचिवालयका अनुसार नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुने एनएक्स्टी २०२६ ग्लोबल समिटमा भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
सम्मेलनमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल हुने आयोजकले जनाएको छ।
उक्त समिटमा नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।
भट्टराई समिटमा सहभागी भएर फागुन ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।








