एन्फा र खेलाडी संघबीच सहमति, चैत ३० मा ए डिभिजन लिगको उद्घाटन खेल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एन्फा र खेलाडी संघबीच सहमति, चैत ३० मा ए डिभिजन लिगको उद्घाटन खेल

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच भएको सहमतिअनुसार ए डिभिजन लिगको उद्घाटन खेल आउँदो चैत ३० गते आयोजना गरिने भएको छ।

मंगलबार दुवै पक्षबीच भएको छलफलपछि सहमति जुटेको जानकारी एन्फाका प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत दिएका हुन्। उनका अनुसार खेलाडी संघले उठाएका विभिन्न मागबारे पनि सहमति भएको छ।

यसअघि खेलाडी संघले आफ्ना मागहरू सम्बोधन गर्नुपर्ने भन्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो। तर छलफलपछि सहमति भएपछि मुख्यालयको ताला खोलिएको छ। खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फाले लिग आयोजना गर्ने स्पष्ट प्रतिबद्धता जनाएको बताएका छन्।

एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रका अनुसार चैत ३० गते उद्घाटन खेल गरिनेछ भने वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सञ्चालन गर्ने तयारी गरिएको छ। यसका लागि हाल सञ्चालन भइरहेको राष्ट्रिय लिगको तालिका संशोधन गरेर समय मिलाउने योजना बनाइएको छ।

नेपालको शीर्ष फुटबल प्रतियोगिता ए डिभिजन लिगको पछिल्लो संस्करण २०७९ सालमा सम्पन्न भएको थियो। त्यसपछि नयाँ सिजन सुरु हुन नसक्दा लिग रोकिएको अवस्था लामो समयसम्म जारी थियो। यसैबीच थ्रीस्टार क्लब र एपीएफ क्लबमध्ये कुन टोली ए डिभिजनमा रहने भन्ने विषयमा आधिकारिक निर्णय आएपछि मात्रै अन्तिम टुंगो लाग्ने एन्फाले जनाएको छ।