ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न सरकारसँग महासंघको आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा महासंघले केही स्थानमा ग्यास अभाव देखिएको तथा विक्रेताले उपभोक्तासँग बढी मूल्य लिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार मध्यपूर्व क्षेत्रमा बढ्दो अशान्तिका कारण भविष्यमा ग्यास आपूर्तिमा समस्या आउने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिएको छ।
तर यस्तो अवस्थाको फाइदा उठाउँदै तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नु गैरकानुनी र दण्डनीय कार्य भएको महासंघले स्पष्ट पारेको छ। महासंघले देशभरका विक्रेतालाई जिम्मेवार ढंगले सेवा प्रवाह गर्न र कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
साथै संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरिएको छ। यसका साथै महासंघले यस्ता गतिविधि गर्ने जो–कोहीमाथि कारबाही हुने जानकारी सबै जिल्ला संघमार्फत देशभरका विक्रेतालाई गराउन निर्देशन दिएको जनाएको छ।







