निर्वाचनमा पराजयपछि नारायणकाजी भने पार्टी पुनर्गठन र नयाँ नीति आवश्यकता छ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालै सम्पन्न निर्वाचनपछिका परिस्थितिमा पार्टीले निर्मम आत्मसमीक्षा गर्दै नयाँ नीति र योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
श्रेष्ठले अब उपयुक्त रणनीतिक र कार्यनीतिक कार्यभारलाई केन्द्रमा राखेर एकता, सहकार्य, ध्रुवीकरण र संयुक्त मोर्चा सहित समग्र रूपान्तरण र पुनर्गठन आवश्यकतामा जोड दिए । उनले पार्टी पुनर्गठनमार्फत देश र जनताको पक्षमा संघर्षको नीति योजना बनाएर क्रान्तिनिष्ठा, धैर्य, विवेक र साहससहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले स्पष्ट पारेका छन्, “हाम्रो कार्यदिशाले शान्तिपूर्ण परिवर्तनलाई आधार बनाएकोले निर्वाचन र सरकार मार्फतको काम महत्त्वपूर्ण छ, तर त्यसैलाई मात्र सम्पूर्ण ठान्दैन।” श्रेष्ठले थपे कि शान्तिपूर्ण कार्यदिशा अन्तर्गत सरकार, संसद र सडक संघर्षको मोर्चामध्ये कुन बेला कुन मोर्चा प्रमुख हुन्छ भन्ने कुरा तत्कालीन परिस्थितिमा भर पर्नेछ।
साथै उनले हालै निर्वाचित संयोजक प्रचण्डसहित सबैलाई बधाई दिंदै, जुनसुकै संघर्षको मोर्चामा क्रियाशील रहँदा पाँच प्रमुख कार्यभारमा केन्द्रित रहनुपर्ने बताएका छन्।
नारायणकाजीले प्रस्ताव गरेको पाँच प्रमुख कार्यभारः
१. राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता, स्वाधीनता,स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने । राष्ट्रिय एकता सुदृढ पार्ने ।
२. नेपाली जनताले ६ दशक भन्दा बढी बलिदानपूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको ऐतिहासिक राजनीतिक परिवर्तनका उपलब्धिहरू , समाजवादउन्मुख समावेशी सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र ,र त्यसलाई संस्थागत गरिएको संविधानको रक्षा गर्ने ,त्यसलाई सुदृढ र परिमार्जन गर्दै जाने ।
३. शान्ति प्रक्रियाको बाँकी कार्यभार ,सङ्क्रमणकालीन न्याय ,को कार्यभारलाई यथाशीघ्र पूरा गर्ने ।
४. सामाजिक आर्थिक रूपान्तरणद्वारा सामाजिक न्याय सहितको समृद्धिको लक्ष पूरा गरेर जनताको जनजीविकाका आधारभूत आवश्यकता पूरा गरेर जीवन फेर्ने र समाजवादको आधार तयार पार्ने ।
५. नेपालमा समाजवाद निर्माण गरेर समाजवादी क्रान्तिको रणनीतिक कार्यभार पूरा गर्ने।







